धार्मिक शक्तिपीठः मौलाकालिका

“या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।”

सरस्वती पन्त

“या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।” अर्थात समस्त प्राणीमा शक्ति रुपले रहने देवीलाई नमस्कार नमस्कार पुनः पुनः नमस्कार गर्दै यसपटक मौलाकालिको वस्तुस्थितिका बारेमा कलम चलाउने जमर्को गरियो ।
नवलपरासी जिल्ला, समुद्री सतहदेखि करिब ९१ मिटर देखि १९३६ मिटरसम्मको उचाईमा रहेको जिल्लाको भू( बनोट पहाड भित्री मधेश र तराई मिलेर बनेको छ । हाल यो क्षेत्र प्रदेश नं. चारमा पर्दछ । जिल्लाको पूर्वमा चितवन, पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहुँ, दक्षिणमा भारतको उत्तर प्रदेश र विहार पर्दछ ।

मौलाकालिका मन्दिर समुद्री सतहदेखि ५६१ मिटर उचाईमा नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका वडा नं. १ मा पर्दछ । मौला कालिकाको मन्दिर गैडाकोट देखि उत्तर पहाडको शिर (डाँडा)मा भएकोले डाँडा कालिका र मौलामा पुजिने भएकोले मौलाकालीका नाम रहन गएको भनाई छ । मौला शब्द संस्कृत भाषाको मौलिबाट आएको हो । महाकाली, महालक्ष्मी, महासरस्वती शक्तिका प्रतिक दुर्गाका रुप हुन् ।

ऐतिहासिक पृष्ठभूमि

पन्ध्रौ शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले यस ठाँउमा सैनिक टुकडी राखी देवघाटधाममा चक्रवर्ति शिला स्थापना गरी तिर्थ वास गरेको थिए । सोही सैनिक टुकडीलाई शक्ति आराधनाका लागी मौलो गाड्न लगाई पीठका रुपमा पूजा–अर्चना गर्ने व्यवस्था गरेका थिए । सेनको शासनकाल पछि स्थानीय पिनाली र सुनारी मगरले पूजा गरेका थिए भन्ने किम्बदन्ती पाइन्छ । गाउँले आदिवासी जनजातिले आलोपालो गरेर पूजा चलाएका थिए । मौलाकालिको मन्दिर र मन्दिरसंगै भएको ठूलो सालको रुख वि.सं. १९९० सालको भँुईचालोले भत्कायो । विस्तारै गाउँका मानिसहरु पनि अन्यत्र जान थाले त्यसपछि मन्दिर जाने पूजा गर्ने चलन हराउँदै गयो । यत्तिकैमा वि.सं.२०३२ सालमा गैंडाकोट १ निवासी काशीनाथ पौडेललाई सपनामा मौलाकालिकाले दर्शन दिई म यही जंगलको धुरीमा छु । मन्दिर बनाएर पूजा गर भनेपछि तत्काल स्थानीय हवल्दार कुमान सिंह गुरुंग लगायतका स्थानीयले उक्त ठाउँमा खनिखोस्री गर्दा धमिराले खाएको काठको मौलो, गोलआकारका शिला तथा घण्टीहरु भ्ेटिएछन् । त्यही ठाउँमा सानो मन्दिर निर्माण गरी बडा दसैं र चैते दसैंमा पूजा पाठ गर्न थालियो । वि.सं.२०४२ सालमा दोसा्रे पटक मन्दिर निर्माण गरेपछि भक्तहरुको भीड लाग्न थाल्यो । मन्दिर सानो भएको अनुभूति गरियो र वि.सं. २०५१ सालमा तीन वटा ढोका अठार वटा झ्याल भएको प्यागोडा शैलीमा तीन तले नयाँ मन्दिर निर्माण गरियो ।

प्रवेशद्धार

पुरानो मन्दिर

नयाँ मन्दिर

वि.सं. २०३२ सालदेखि ब्राह्मणद्धारा पूजा हुँदै आएकोमा वि.सं.२०३८ वैशाखमा धार्मिक सेवा समिति बनाई पूजालाई केही संस्थागत गर्यो । २०४३ सालदेखि हप्ताको दुई दिन शनिबार र मंगलबार पुजा हुन थाल्यो । एवं रुपले २०४४ सालदेखि एक जना पुजारीबाट नित्य पुजा हुन थाल्यो र २०६४ सालदेखि तीन जना पुजारीबाट वैदिक विधि अनुरुप सात्विक दैनिक पूजा पाठ पारायण हँुदै आएको छ । हाल मूल पुजारी क्षेत्रप्रसाद पराजुली लगायत जगनाथ कँडेल, नरेन्द्र भट्टराई र वेदराज काफ्ले गरी चारजना पुजारी रहेका छन् । कालिका मन्दिरमा नित्य र नैनित्य दुवै थरी पूजा हुंदै आएको छ । मुख्य पुजारी पराजुलीका अनुसार विहान तीन बजेदेखि साढे तीनसम्म स्नान साढे तीनदेखि पाँच. बजेसम्ममा नियमित पूजा सकी पाँच बजे पछि भक्तहरुका लागी मन्दिर खुला गरिन्छ । दिउँसो बाह्र बजेदेखि साढे बाह्रसम्म आधा घण्टा बन्द हुन्छ । त्यसपछि दिनभरीनै खुल्ला रहन्छ । साँझमा धुपबत्ती आरती हुन्छ । बडादसैं र चैतेदसैंमा विशेष पूजा हुन्छ । विशेष पूजामा रुद्री,अखण्ड सप्तशती होमन आदि । यस पीठमा वली दिईदैन । परेवा उडाउने, नरिवल र चुनरी चढाएर पूजा आराधना गरिन्छ ।अष्टमी, मंगलबार र शनिबार दर्शनार्थीको भीड लाग्दछ । नीष्ठाले गरेमा भाकल पुग्ने बताउँछिन चितवन टाँडी निवासी मोनिका पाण्डे ।

शक्तिस्वरुपा देविका नामबाट स्थापना भएका मन्दिर, मौला र कोटहरुमा पशुपंछीको वली दिइन्छ यहाँ वली नदिंदा विरोध भएन भन्ने सवालमा मूल पुजारी पराजुलीले भन्नुभयो किन नहुनु भयो , धम्की आयो तर हामी विचलित भएनौ । विगतको एउटा घटना स्मरण गर्दै( आज भन्दा चार पाँच वर्ष पहिले एक जना लाहुरेले भाकल पुराभएकोले वली दिन वोका ल्याएर पूजा गरिदिनु भन्नुभयो मैले यहाँ वली दिन हँुदैन भने । त्यसो भए पूजा गरिदिनु तल जंगलमा लगेर वली दिन्छु भन्दा पनि मैले नमाने पछि निकै रिसाउनु भयो । अन्ततः धेरै सम्झाए पछि बोका कालिका नाममा अर्पण गरेर छोड्ने शर्तमा पूजा गरी दिए । आजभोलि वलीको लागी पशु पंछी ल्याउँदैनन् । धेरै पहिले भाकल गरेर वली दिने र दसैंमा पञ्चवली दिने चलन थियो ।

मौला कालिका मन्दिर व्यवस्थापन,सम्रक्षण एवं सम्बर्दनका लागी धार्मिक समितिहरु बनाइएको छ । जसमा कार्यसमिति, संस्थापनसमिति, सल्लाहारसमितिलागयत आन्तरिक लेखा, आर्थिक व्यवस्थापन, अनुगमन तथा मुल्यांकन, धार्मिक वन संरक्षण र व्यवस्थापन, संरक्षण, फोहोर मैला व्यवस्थापन, भजन किर्तन आदि शिर्षकमा उपसमितिहरु बनेका छन् । यसवर्ष कोरोनाका कारण मल्दिरमा चहलपहल छैन ।

मौलाकालिका मन्दिर जानको लागी हवाई मार्गबाट जाने हो भने भरतपुर विमान स्थलबाट मन्दिरको सम्म । गुडेर जानको लागी पूव(पश्चिम महेन्द्रराज मार्गमा पर्ने गैंडाकोट भृकुटी कागज कारखाना नेर भृकुटी चोक छ । त्यहाँबाट उत्तर लागेपछि मौलाकालिका पुगिन्छ । टेम्पु र इ(रिक्साहरुले मौलाकालिका मन्दिर क्षेत्र प्रवेशद्धारसम्म र माथि मन्दिर पुग्न पनि इ–रिक्सा पाइन्छ । प्रवेशद्धारबाट मन्दिरसम्म हिडेर पुग्न १८८२ सिंढी चढ्नु पर्छ । उकालो चढ्न नसक्नेको लागी हेलिप्याडको व्यवस्था पनि छ । द्धारबाट प्रवेश गरेपछि नजिकै रहेका सिद्धिविनायक गणेश मन्दिर र राधाकृष्ण मन्दिरमा दर्शन गरी उकालो लागिन्छ । अलि माथि देउराली भञ्ज्यांगमा देउराली देवीको खुला मन्दिर छ । उकालो चढ्दै जाँदा बाटोको दायाँ बाया विश्राम स्थल, पिउने पानीका धारा, निःशुल्क सार्वजनिक शौचालय र चमेना घर छन् । सिंढीमार्गको बीच भागमा रहेको महत विसौनी र अमृत धारा निकै रमणीय छन् । मन्दिरमा अतिथि गृह २०० जनालाई बस्न खाना खुवाउन सक्ने क्षमता छ । मन्दिर संचालनकोलागि गुठी या स्थायी सम्पत्ति नभए पनि नेपाल सरकारबाट प्राप्त १९.२ हेक्टर वन जसलाई धार्मिक वनको रुपमा प्रयोग भइरहेको छ । आय स्रोत भक्तजन तथा पर्यटकले चढाउने दान भेटी, स्थानीय, व्यापारीहरु, संघसंस्था, प्रहरी,सेना अन्य सहयोगीहरुबाट दानमा आएको जिन्सी र परेवा बिक्री,आजीवन तथा साधारण सदस्य वापतको शुल्क,अक्षय कोषको ब्याज, विवाह व्रतबन्ध गरेवापत लिइने शुल्क, नेपाल सरकारका विभिन्न निकायबाट प्राप्त सहयोग आदि रहेका छन

एक पटक गएपछि पटक पटक जान मन लाग्ने मौला कालिका धार्मिक महत्वका साथै प्रचुर पर्यटकीय सम्भावना वोकेको छ । मौलाकालिका क्षेत्रलाई नेपाल सरकारले पर्यटन वर्ष सन २०११ मा धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचिकृत गरिसकेको छ ।

स्रोहरुः –मौलाकालिका रजत स्मारिका २०६२ –मैलाकालिका मन्दिर संक्षिप्त परिचय (ब्रोसर)
Image source: Nepal Travel Gide

Leave a Reply

Your email address will not be published.