आमाको मुख हेर्ने दिन अर्थात् मातृ औंशी

वैशाख महिनामा पर्ने औंसी तिथिका दिनलाई मातृ औंसी भनिन्छ ।

सरस्वती पन्त

आज मातृ औंसी आमाको मुख हेर्ने दिन हो । वैशाख महिनामा पर्ने औंसी तिथिका दिनलाई मातृ औंसी भनिन्छ । सबै कुरा पैसा होइन तर पैसामा केही तागत छ भन्ने अवश्य हो । अहिले भौतिकवादको नाममा हरेक कुरालाई पैसासंग तुलना गरिन्छ । यहाँसम्मकी आफूलाई जन्म दिने आमा बाबुलाई हेरचाह गर्दा पैसा अर्थात सम्पतिको कुरा आँउछ । आमा बाबुको सम्पत्ति हात पारेर नहेर्ने वा कुनै आश्रममा लगेर छोड्ने जस्ता निकृष्ट काम गर्नेहरु पनि यो समाज छन् । यो जल्दो बल्दो र दुखद सामाजिक यथार्थ हो । एउटा सानो ऐतिहासिक गफमा, रत्नाकर डांका भए तापनि एक साधुसङ्गको भेटबाट ऋषि भएका थिए, र वाल्मिकी रामायणका लेखक बने । तर वर्षौंसम्म आमाको मायाले सिंचिएका सन्तान समयसंगै टाढिएर जान्छन् । मन, बचन र कर्मले काम गर्नु , सेवा गर्नु भनेको पैसा कमाउन नभई आफुले देख्न समेत नपाइने मलामी कमाउनु हो अर्थात् नाम कमाउनु हो । जसलाई मरेर गए पनि संझन लायक हुन्छ । कथामा भएका श्रवण कुमार जस्तै ।

वसन्तपुरको जीवित देवी कुमारी घर

मातातिर्थमा आमाको श्राद्ध र तर्पण गर्दै

हाम्रा पूर्खाले सामाजिक तथा पारिवारिक सांस्कृतिक र जिम्मेवारी दिए मठ, मन्दिर, पाटी, पौवा,मस्जिद, गिर्जाघर जस्ता ऐतिहासिक धरोहर छोडेर गए तर हामी त्यसका जीर्ण अबस्थालाई टुलु,टुलु हेर्दै हिड्नु बाहेक हामीले के गर्न खोजेका छौं र ? द्वापर युगमा रामले रावणलाई हराई लंंका जितेपछि लक्ष्मणले रामलाई त्यही सुन्दर राज्यमा राज गरी बस्न अनुरोध गर्दा श्रीरामले जननी जन्म भूमिश्चः स्वर्गादपि गरियसी, जन्म भूमि र जन्म दिने आमा स्वर्ग भन्दा पनि माथि हुन्छन् । त्यसैले अयोध्या नै जानु पर्छ भनी सम्झाएका थिए ।

देव देवी भन्दा उच्च, प्रेमकी भण्डार,करुणा र्र्मूिर्त, कोमल पवित्र मन भएका भगवती सधै सवैका पूजनीय हुन्छन् । आमा शब्द प्राय अ र म अक्षरसंग सम्बन्धित हुन्छन् । आत्मा र मन, यिनै अक्षरको सुरुवात गरि आमा शब्दहरु पुकारिन्छ । जस्तो चलन चल्तीमा भनिने आमा, अम्मा, अम्मी, माइर्, मदर, मम्मी, माँ, माङ, माता,महातारी, आदि । भगवान श्रीकृष्णले मैया भनेर पनि पुकार्थे भनिन्छ । हामीलाई जन्म दिने जननी हुन वा जन्म भूमी दुवैबाट ऋणी हन्छौं । त्यसैकारण हामीले आमा र देशको सेवा गर्नु कदापी पछि हट्नु हुदैन ।

यत्र नार्यस्तु पूज्यन्ते, तत्र रमन्ते देवता, भनि हाम्रा ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । यिनै नारीको शीर्ष स्थान आमालाई धर्ती, पृथ्वी, जन्मदात्री, जननी भनिन्छ । मातृ औंसी प्रत्येक वर्षको बैशाख महिनामा पर्ने अमावस्याको दिन हो । यसै दिनमा आमाको मुख हेरी मीठो भोजन गराउने तथा उपहार दिने गरिन्छ । आमाले टीका लगाई आशिर्वाद दिन्छन् । चेलिबेटीलाई दक्षिणा दिने गरिन्छ । यस वर्ष बैशाख ५ गते शनिबार परेको छ ।

आमा हुनेले आमाको मुख हेर्छन् । नहुनेले कसैलाई मानेर सम्मान पनि गर्छन । राजधानीमा, आमा नहुनेले काठमाण्डौबाट दक्षिण पश्चिममा पर्ने माता तीर्थ कुण्डमा गई मुण्डन गर्ने नुहाउने र पिण्ड तथा तर्पण गर्दछन् । महिलाहरुले नुहाई दान दक्षिणा प्रदान गर्दछन् । कुण्डको पानीमा मुख नियाल्दै हेर्दछन् । यस पवित्र ठाँउमा सानो कुण्ड छ । ठूलो कुण्डका ठाउंमा सानो कुण्डका पानी बांडेर १२ वटा धारा मार्फत नुहाउन पाइन्छ । सानोकुण्डमा आमाको मुख हेर्ने गरिन्छ । केही वर्ष अगाडी आमाको मुख हेर्न गएका ब्यक्ति कुण्डमा खसेर मृत्यु भए पश्चात् हाल सो कुण्डलाई फलामे जालीले ढाकि, छोपिएको छ

मातातिर्थमा आमाको मुख हेर्ने कुण्ड

मातृ औंसीमा माता तिर्थ कुण्डको निकै महत्व छ । यस पर्वमा स्वदेशी तथा विदेशीको घुइचो लाग्ने गर्दछ । यो कुण्ड कसरी बन्यो भन्ने विषयमा विभिन्न किम्बदन्तीहरु यसप्रकार छन् । जहाँ अहिले कुण्ड छन् । त्यहाँ पहिले चौर थियो । गोठालाहरु गाई चराउने क्रममा खाजा खाने गर्दथे । खाजा खाँदा खसेको खाना हराउथ्यो । यो क्रम दोहोरिदै जाँदा गोठालालाई रमाइलो लागी जताततै छर्न थालेछन् । त्यो पनि हराएपछि आफ्ना अभिभावकलाई भनेछन् । सवैआई हेर्दा त्यस्तै भएपछि । त्यहि ठाँउमा पोखरी खनेछन् । तिनै पोखरी अहिले माता तीर्थ कुण्डका नामले प्रख्यात् छन् ।

पुराना कथाहरुमा वर्णन गरिए बमोजिम भगवान श्रीकृष्णकी माता देवकी घुम्दै फिर्दै माता एक दिन तीर्थमा पुगिछन् । त्यहाँको प्राकृतिक सौन्दर्य र ठण्डा जलवायुले मोहनी लगाएछ । एक छिन आराम गरु भनि पल्टिछन् । थाकेकी हँुदा भुसुक्कै निदाइछन् । यता घरमा व्यापक खोजी भयो फेला नपरेपछि कृष्ण स्वयम खोजीमा निस्के र खोज्दै जाँदा आमाले कुण्डमा नुहाइृ रहेको फेला पारे अरे त्यो दिन बैशाख महिनाको औंसी तिथि थियो । कृष्णले जस्ले बैशाखको औंसीमा यस कुण्डको दर्शन गर्ला त्यसले हराएकी तथा स्वर्ग वासी आमाको दर्शन पाउला भनेछन् । त्यहि समय देखी चलन चलेको भनाई छ । सानो कुण्ड देखेता पनि ठूलो कुण्ड देखिदैन । सानो कुण्डबाट बगेको पानीलाई मातातीर्थ संरक्षण संमिति २०५९ ले टूलो कुण्ड भन्ने ठाँउमा १२ वटा ढुंगेधाराको व्यवस्थापन गरेको छ ।

पहिले उक्त १२ धारामा लुगा धुन पनि पाइन्थ्यो । कुण्डको नाममा स्थापित धारामा नुहाउन मात्र दिइन्छ । तथापि सोहि सानो कुण्डको पानी मन्दिर बाहिर खुला चौरमा १० वटा ढुंगे धारा राखी खान पिउन कपडा धुनको लागी बनाइएका छन् । सवै धाराबाट पानी आएको पाइदैन । पूर्व पश्चिम, पश्चिम दक्षिणमा रहेका अग्ला रुखहरुले मातातीर्थ कुण्डलाई अंगालो मारी अविरल पानीको स्रोत जुटाइदिई रहेका छन ।

मतातिर्थमा अवस्थित ढुंगेधारा

मातातिर्थमा भक्तजनहरु

जीउँदो छँदामा सम्पत्ति प्राप्ती गर्ने नाममा विविध मुद्धा मामिला गरी आमा बाबुले दुखः नखेपेका हुँदैनन् । अघिपछि जेजस्तो भएपनि औंसीको दिन खानेकुरा र उपहार लिई भेट्न जाने चलन छ । जीउँदोमा जालो नपाए पनि मरेपछि श्राद्ध गर्ने, पिण्ड तर्पण दिने साथै नजिकैका आफन्तलाई वोलाई शुद्ध, सात्विक खाना ख्वाउने चलन छन । माथि लेखिएका कुराहरुमा प्राकृतिक, सामाजिक तथा व्यवहारिक रुपमा हामीले आफ्ना व्यक्ति, आमा वुवा जो सुकैलाई जिउँदैमा सेवा पु¥याउनु प्रमुख दायित्व हो । तीर्थ ब्रत तथा भोकै बस्दैमा धर्म हुने होइन । आफ्नो मन माझेर सफा शुद्ध चित्तले गरीब, असहाय, निमुखा जस्ता व्यक्तिहरुको सेवा तथा आवश्यकता पुरा गर्नु माता तीर्थ औसीको आव्हान हो । अन्त्यमा हामीले आमालाई माया गर्नु, धर्तीको मायाबाट बाँच्नु र पञ्चतत्वको आवश्यकता महशुस गरि जोगाउनु पनि हाम्रो कर्तव्य हो ।

Image source: WikiMedia Commons

Leave a Reply

Your email address will not be published.