रमादान

सूर्योदयदेखि सूर्यास्तसम्म निराहार र निराजल एक महिनासम्म गरिने ब्रतलाई रमदान भनिन्छ ।

सरस्वती पन्त

मुस्लिम समुदायको महान चाड रमदान २०७५ जेठ ३ गतेदेखि सुरु भएको छ । सूर्योदयदेखि सूर्यास्तसम्म निराहार र निराजल एक महिनासम्म गरिने ब्रतलाई रमदान भनिन्छ । एक महिनासम्म रोज उपवास बस्ने हुँदा यसलाई रोजा बस्ने पनि भनिन्छ । अरबी भाषामा रमादान (Ramadan), उर्दुहरु रमजान (Ramazan), पर्सियन र तुर्किसहरु रमाजान (Ramazan) फरक ठाउँ फरक नामले बोलिन्छ । रमदान इस्लामिक पात्रोको नवौ महिना चन्द्रमास अनुसार मनाइन्छ । जसमा मुहर्रम, सफार, रवि अलावल, रवि अल थानि, जमुदा अलावल, जमुदा अल थानि,रजब, सव्वन, रमादान, रसवाल, धुअलकिदाह र धुअल हिजाह गरी बाह्र महिना मध्ये नवौं महिनामा रमादान पर्दछ । अल्लाह (सर्वशक्तिमान ईश्वर)ले पेगम्वर मोहम्मदलाई पवित्र कुरआन दिएको उल्लेख छ । सन् ५७० मा अरबमा जन्मेका पेगम्बर (ईश्वरका प्रतिीनिधी) मोहम्मदले । सर्वशक्तिमान् अल्लाहबाट प्राप्त गरेका वाक्यहरुलाई कुरानको रुपमा प्रस्तुत गरे । तीस खण्डको कुरान नेपालमा छब्बीस दिनमा पढेर सिध्याइन्छ । अरवियन देशहरुमा छ दिन वा एक दिनमा पढेर सक्छन । पैगम्बरले ला इल्लाह इलुल्लाह अव्दुलमुहम्मद रसुलिल्लाह नामको मन्ञको शुरुवात् गरे ।

घण्टाघर स्थित जामे मस्जिदमा नमाज पढ्दै गरेको

जसको अर्थ हुन्छ परमेश्वर भन्दा माथि कोहि वा केहि हुदैनन् ।

भनिन्छ वा विश्वास के गरिन्छ भने कयामत अर्थात मानिसको इहलिला समाप्त हुने वखत् अल्लाहको उपस्थिति हुन्छ र अल्लाहले मर्न लागेको मानिस धर्मात्मी वा पापी के थियो भनी छुट्याउछन् पेगम्वरले पापी र धर्मी छुट्याउन एउटा पुल (सरात) केश जस्तो पातलो तरवार जस्तै हुन्छ त्यो काटनु वा पार गर्नु पर्ने हुन्छ ।

इस्लाम धर्मावलम्बीहरुले निम्न सदाचार पालन गर्दछन् । सउदी अरबको मक्का तर्फ फर्केर दिनको पांच पटक नमाज (नवाद) अर्थात् प्रार्थना गर्दछन् । रमादानको अवसरमा दिनको छ पटक नमाज पढ्ने गरिन्छ । यसमा “अल्लाह हु अकबर ” भन्दछन् । नमाजको समय अनुसारको नाम रहेको छ । विहान तीन बजेर पचास मिनेटमा फजर सुरु हुन्छ । दिउसो एक बजेर तीस मिनेट मा जोहर, साँझ पाँच बजेर पन्ध्र मिनेटमा असर, साँझ सात बजेर दुई मिनेटमा मगरीव,राती आठ बजेर पैंतालिस मिनेटमा ईशा र राती नौ बजे त्रावी पढेपछि प्राथना पुरा हुन्छ । रोजाको होस वा अन्य शुक्रबारको नमाजमा एक बजेको समयमा जुमा पढिन्छ । रोजा बस्न नसक्नेले पनि नमाज पढ्छन । सके उभिएर नसके बसेर त्यो पनि नसके सुतेर नमाज पढ्नु पर्छ । नवाज पुरुषले मस्जिदमा र महिलाहरु घरमा पढ्छन् ।

यस समुदायमा कुनै पनि मुसलमानले आफ्नो आम्दानीबाट दीन, दुःखी वा गरीवलाई रु.एक हजारमा पच्चीस् रुपैञाका (सय कडा २.५ प्रतिशत) दरले जकात् अर्थात् दान छुट््याएर गरीब, असहाय वा शिक्षा स्वास्थमा खर्च गर्ने गर्दछन् । यसै सन्दर्भ निशा अली भन्छिन् ( विगत केही वर्ष यता विरामीको कारण रोजा बस्न नसके पनि समुदायमा चाडमा सवैले मनाउनु पर्छ । सबै रमाउन पाउनु पर्छ त्यसैले सकेको सहयोग जकात गर्छु । मुसलमानले आफ्नो लगानीमा व्याज लिदैनन् । एक आपसमा मित्रता, सद्भाव प्रकट गर्नु र आफ्नो कमाइको निश्चित् प्रतिशत अनाथ, अशक्तमा वा शिक्षा स्वास्थ प्रयोजनमा खर्च गर्ने पर्वको उद्देश्य हो । यसै सन्दर्भमा बागबजार निवासी कमरुद्दिन मियाका अनुसार( उपासना गर्नु खान नपाउनेहरुको पीडा बुझ्नु हो । त्यसैले आफ्नो गच्छे अनुसार दान गर्नुपर्छ । मक्का मदीना पुगेर हज गरेर आएका मुस्लिमलाई हाजी भनिन्छ । जीन्दगीमा कम्तिमा एक पटक हज जानु पर्छ भन्ने मान्यता छ । हजबाट फर्के पछि आफन्त इष्टमीत्रलाई भोज दिनु पर्दछ । यस्तो चलन हिन्दु धर्ममा पनि चार धामको यात्रा पश्चात् तीर्थे भतेर खुवाउने चलन छ ।

दतिवन (दाँत माझ्ने) विभिन्न प्रकार खजुर

मुस्लिम समुदाय धर्ममा कट्टर मानिन्छन् । तथापि उनीहरुमा पनि धार्मिक सम्प्रदाय फरक छन् । सिया वा सुन्नी मुसलमानका धर्मग्रन्थ एउटै भएता पनि उनीहरुका सामाजिक व्यवहार फरक छन् । अल्लाह एउटै तर प्रार्थना गर्ने मस्जिद वा मृत्यु पश्चात् दफन गर्ने स्थान अलग स्थानमा रहन्छन् । सिया समुदाय बढी कट्टर र सुन्नी समुदाय सुधारवादीमा गनिन्छन् । आज मुस्लिम देशमा सिया र सुन्नीका लडाई, झगडा दिनानुदिन बढदो छ । जसको कारण विषेश गरी दक्षिण तथा पूर्वी एशियामा निकै धन जनको क्षती भइरहेको छ । त्यसमा पनि यो रमदानको पवित्र अवसरमा मस्जिदहरुलाई लक्षित गरी घटाइएका घटनाहरु अल्लाहको आदेश, निर्देश, वा दर्शन हुन सक्दैन ा वास्तवमा कुनै पनि धर्म आफैमा सानो ठूलो वा राम्रो नराम्रो हुदैन । यो त क्रम चलाउने व्यक्तिका व्यवहारमा भर पर्दछ । आडम्बर भयो भने धर्मले समाजलाई दिशाहिन गराउंछ । गौढ गरेर हे¥यांैं भने सवै धर्मले पवित्रता, परोपकार, दान, सहयोग, अनुशासन अहिंसा, आत्मा शुिद्ध र क्षमा आदि अनुशरण गर्न निर्देशन गर्दछ । अपवित्रता, झुटबोल्नु, चोर्नु ,अरुलाई दुःख दिने अपराधजन्य कार्यलाई बर्जित गरेको छ ।

यस समुदायमा बाह्र तेह्र वर्षको उमेरमा वालवालिका वालिग हुन्छन । वालिग भए पछि ब्रत बस्न अनिवार्य हुन्छ । असक्त, वुढाबुढी, केटाकेटी,गर्भवती विरामीलाई छुट छ । रजस्वला भएको महिलाले पाँच दिनसम्म रोजा बस्दैनन् । ब्रत बस्नु पूर्व विहान घाम उदाउनु डेढ घण्टा पहिले सुर र साँझ छ्वारा तथा खजुर पानी खाई ब्रत तोडेपछि भने सबै खान हुन्छ ।

मादक पदार्थ खाना निषेध छ । विहानको खानालाई शेरी र साँझको खानालाई अफ्तारी वा इफ्तार भनिन्छ । शेरी घरमानै खाइन्छ भने अफ्तारी भोजन आफ्नो समयानुकुल मस्जिदमा वा घरमा गरिन्छ । यस वर्षको शेरी विहान ३ बजेर मिनेट भित्रमा गरिसक्नु पर्छ भने अफ्तारी साँझ ७ बजेर ४ मिनेट पछि मात्रा सुरु हुन्छ । रमदानको १५ दिन अगाडी मस्जिद वा घरमा कुरान पढेर सवे बारातको जाग्रम बस्नु पर्दछ । यो जाग्रामबाट आफूबाट भएका वर्षभरिका पाप नास हुनुको साथै पितृको आत्म शान्ति हुन्छ भन्ने जन विश्वास छ ।

यस वर्ष गत जेठ २ गतेको चन्द्रमा हेरेर ३ गतेदेखि सुरु भएको रमादान यही जेठ ३१ गतेकोे चन्द्रमा देखिएमा असार १ गते पर्दछ । ३१ गते चन्द्रमा नदेखिएमा असार १ गते चन्द्रमा देखे पनि नदेखे पनि २ गते रमादानको अन्तिम हुन्छ । उक्त दिन इदउल फित्र मनाइन्छ । रमदानको सुरु र अन्तिम समयको साउदी अरब घोषणा भए पछि नेपाली मुस्लिम संघले दिन तय गरेको जानकारी नेपाल सरकारलाई गराउँछ र सरकारले सार्वजानिक विदा घोषण गर्छ ा त्यस पछि शुभकामना आदान प्रदान भोज हुन्छ । यस पवित्र दिनमा सत्रुभाव, मनमुटाव सवै त्यागेर मीत्रवत व्यवहार गर्ने तथा गले मिल्ने, क्षमा दिने पनि लिने र भाईचारालाई बढावा दिइन्छ । हुनेले नहुनेलाई दान गर्ने र सामुहिक रुपमा सवैले इस्लामिक नियम अनुसार हर्षोल्लासका साथ पर्व मनाउने रमादानको मूल मर्म हो ।

स्रोतहरु :
जामे मस्जिदको मद्रसा इस्लामियाका पूर्व प्र अ. सुभान अलि
स्व. रमेश च.ब. भट्टराई को जननी मासिकमा प्रकासित लेख हिन्दु, मुस्लिम, सिख र इसाई कोहि छैन पराई लेख
निशा अलि, अधिबक्ता मोहम्मद निजामुद्दिन, र कमरुद्दिन मिया
Cover Photo: RSS

Leave a Reply

Your email address will not be published. Required fields are marked *